BostonNepal

Tuesday, July 15, 2014

अमेरिकावासीलाई प्रेमराजाको सुझाव– ‘स्वीजरल्याण्ड होइन, नेपाल घुम्न जाऊ’

गणेश पाण्डे ​,
वासिङटन डिसी, ३१ असार । अमेरिकाको मेरिल्याण्ड र पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका अवैतानिक महावाणिज्यदूत प्रेमराजा महतले आफ्ना छोराछोरालाई स्वीजरल्याण्ड नभइ नेपाल घुम्न पठाउन अमेरिकावासी नेपालीहरुलाई आग्रह गर्नुभएको छ । 

नेपाल दूतावास र नेपाल अमेरिका सोसाइटीले संयुक्त रुपमा वासिङटन डिसीमा गरेको कार्यक्रममा महतले आफ्ना सन्तानहरुलाई विदेशमा भन्दा नेपालमै घुम्न पठाउन नेपाली मुलका अमेरिकनहरुलाई आग्रह गर्नुभएको हो । 

‘तपाईं हामी विश्वका अरु देश घुम्नुको सट्टा बर्षमा एकपटक नेपाल जाने प्रथा राख्यौं भने नेपालको पर्यटन प्रबद्र्धनमा मद्दत पुग्छ । हाम्रा सन्तानलाई हाम्रै डाँडाकाँडा पाखा पखेरा देखाउन जरुरी छ ।’ उहाँले भन्नुभयो । 

नेपाली संस्कृति र पर्यटनलाई प्रबद्र्धनमा आफू तल्लीन रहेको उहाँले सुनाउनुभयो । 
कार्यक्रमका अतिथि रहेका निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले पनि महतको भनाइमा सही थाप्नुभयो । र, भन्नुभयो, ‘हाम्रा गाउँघर रित्ता हुन थालेका छन्, बुढापाकाहरु मात्रै गाउँमा भेटिन्छन्, त्यसैले तपाईंहरुको देशलाई माया जरुरी छ ।’

कार्यक्रममा नेपाली दूतावासका कार्यबाहक राजदूत ऋषिराम घिमिरेले नेपालमा लगानी भित्राउन सरकार कटिबद्ध रहेको भन्दै लगानीका लागि नेपाली समुदायलाई अपिल गर्नुभयो । 

नेपाल अमेरिका सोसाइटीका अध्यक्ष डा ठाकुर पुडासैनी र गैरआवासीय नेपाली संघका अध्यक्ष लोक तिवारीले मातृभूमि भएकाले पनि विदेशिएका नेपालीहरुले आफ्नो देशमा लगानी गर्नुपर्ने बताउनुभयो । अमेरिकाबाट नेपालमा लगानी भित्राउन आफूहरु लागिरहेको उहाँले बताउनुभयो । 


कार्यक्रममा वरिष्ठ अर्थविद् गोविन्द प्रसाद तिमिल्सिनाले नेपाललाई सिंगापुर र स्वीजरल्याण्ड बनाउने झुटो सपना नबाँड्न नेपालका नेताहरुलाई आग्रह गर्नुभयो । अहिलेकै गतिमा नेपालको विकास भए स्वीजरल्याण्ड बन्न कम्तीमा पनि डेढसय बर्ष र सिंगापुर बन्न ७३ बर्ष लाग्ने उहाँले बताउनुभयो । 

No comments:

Post a Comment