BostonNepal

Tuesday, May 27, 2014

वोस्टनमा युगकवि सिद्धिचरण श्रेष्ठको संझना

कृष्णराज खनाल, वोस्टन, मे २६ - युगकवि सिद्धिचरण श्रेष्ठको आज यहाँ संझना गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वोस्टन च्याप्टरद्धारा आइतवार युगकवि श्रेष्ठको १०३ औँ जन्मजयन्तीको अवसरमा यहाँ आयोजित सम्मान समारोह तथा साहित्यिक कार्यक्रममा उहाँको योगदानको चर्चा गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदी तथा विशिष्ट अतिथिहरु साहित्यकारहरु रमेश खकुरेल र डा. कविताराम श्रेष्ठले कवि श्रेष्ठलाई एक युगिन कवि, प्रकृति चित्रण र जीवन सन्दर्भका कविका रुपमा व्याख्या गर्नुभएको थियो । डा. कवितारामले नेपाल र नेपाली दुवै भाषामा कविले एकसाथ कलम चलाउनुभएको स्मरण गर्नुभएको थियो । हास्यव्यंगकार खकुरेलले छन्द कवितामा नेपाली साहित्य निकै सशक्त रहेको चर्चा गर्नुभएको थियो । 


संस्थापक अध्यक्ष होमनाथ सुवेदीले भर्खरै कलम चलाउनेदेखि दिग्गज साहित्यकारहरुसम्मलाई आइएनएलएसले प्रोत्साहित गरेको स्मरण गर्दै वोस्टन च्याप्टरले साहित्यको अभिवृद्धिमा योगदान दिएको बताउनुभयो । वोस्टन च्याप्टरका अध्यक्ष हरिप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका अवसरमा उहाँले च्याप्टरले आागामी दिनमा यस्ता कार्यक्रम गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सो अवसरमा वोस्टनमा रहेर नेपाली साहित्यको अभिवृद्धिमा योगदान पुर्याउने च्याप्टरका दुइ पूर्व अध्यक्ष साहित्यकार भारती गौतम र डा. उषा शर्मालाई ताम्रपत्रद्धारा सम्मान गरिएको थियो । कवि लालगोपाल सुवेदीले साहित्यकार गौतमको कृतिको समीक्षा गर्नुभएको थियो भने कृष्णराज खनालले डा. शर्माको सामाजिक व्यक्तित्वको चर्चा गर्नुभएको थियो । विशिष्ट अतिथिहरुद्धारा सम्मानित हुने मौका पाएकोमा गौतम र शर्माले च्याप्टरलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सो अवसरमा कवि तथा गजलकार गोवर्धन पूजाले डा. कवितारामको साहित्यिक व्यक्तित्वको चर्चा गर्नुभएको थियो भने डा. शिव गौतमले कवि रमेश खकुरेलको बारेमा चर्चा गर्नुभएको थियो । यस अवसरमा मवि सिंह, शिवप्रकाश, कृष्णराज खनाल, महेश्वर पन्त, अग्नि पराजुली, दीपा राइ पुन, एलवी ऐर, लालगोपाल सुवेदी, राकेश काफ्ले, ममता कर्माचार्य, गुहनाथ पौडेल, विष्णुहरि द्यौराली, माया कठायत, सन लिम्बु आदि श्रष्टाहरुले आआफ्ना्े रचना वाचन गर्नुभएको थियो ।

च्याप्टरका सदस्य महेश्वर पन्तले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा जीवीएनसीका अध्यक्ष मिलन गुरुंग, एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्यासी विष्णुहरि द्यौराली र महासचिवका प्रत्यासी कृष्ण पोखरेलले पनि मन्तव्य राख्नुभएको थियो । सचिव यम पौडेलले आगन्तुक सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

No comments:

Post a Comment