BostonNepal

Saturday, September 6, 2014

रक्तदान गर्न नपाउँदा दुःखी



सिपाली–९, काभ्रेपलाञ्चोकका अर्जुनप्रसाद मैनाली (४६) डिसेम्बर ३, २०१३ लाई जीवनको नरमाइलो दिनमध्ये एक ठान्छन् । यसको कारण थियो– आयरल्यान्डको डब्लिनमा रक्तदान गर्न नपाउनु । अरुका लागि सामान्य घटना भए पनि पछिल्लो २७ वर्षमा १२३ पटक रक्तदान गरिसकेका मैनाली आयरल्यान्ड पुग्नुको कारण नै रक्तदान भएकोले दुःख लागेको बताउँछन् । ‘नेपालबाट आएको भनेपछि आइरिस ब्लड ट्रान्सफ्युजन सर्भिसका अधिकारीले मेरो रगत लिन मानेनन्,’ विश्वव्यापी रक्तदान अभियानमा लागेका मैनालीले भने, ‘त्यहाँ औलोको जोखिम भएको देशबाट गएका मान्छेले रक्तदान गर्न तीन बर्ष कुर्नुपर्ने रहेछ । तपाइँ अमेरिका बसेको १४ बर्ष भएकाले, नमूना रगत दिनुहोस्, नेगेटिभ रिपोर्ट आयो भने ३ महिनापछि बोलाउँछौं' भन्दै फर्काइदिए । 

रोजगारीको सिलसिलामा बिदेसिएका मैनाली अचेल परिवारसहित अमेरिकाको न्युयोर्कमा बस्छन् । जागिरबाट समय निकालेर अमेरिकाका विभिन्न राज्य र अरु देशमा पुगी त्यहाँ रहेका नेपालीलाई रक्तदान गर्न उक्साउँछन । आफूले पछिल्लो सत्ताइस वर्षमा नेपाल, भारत, अमेरिका, क्यानाडा, बेलायत, बर्मुडा, मकाउका नेपालीहरु संगै रक्तदान गरेर अभिप्रेरित गराएको मैनालीको भनाइ छ ।

सन् १९८७ को अगस्ट २० मा विशाल बजार लाइन्स क्लबले आयोजना गरेको कार्यक्रममा पहिलोपटक रक्तदान गरेका मैनालीले रगत अभावले ज्यान गुमाउनुपर्ने बाध्यता हटाउन विश्वव्यापी अभियान थालेको बताए । कमजोर होइने डरले एकजना व्यक्तिले आफ्नै श्रीमतीलाई आवश्यक पर्दा पनि रगत दिन डराएको देखेपछि रक्तदानको प्रचारप्रसारमा लागेका उनी आफ्नो प्रेरणास्रोत चाहिँ ‘द ब्लड डोनर’ शीर्षक निबन्धका पात्र जो थोमसलाई मान्छन् । जसले आफ्नो रगत दिएर कैयौंको ज्यान जोगाएका थिए । 

मैनालीले सर्वसाधारणलाई रक्तदानमा अभिप्रेरित गर्न उनले रोचक विधि अपनाएका छन् । जसमा रक्तदातालाई खल्तीको पैसाले पुरस्कृत गर्नेदेखि ‘रक्तदान गरौं’ सन्देश छापेर डटपेन र किताब प्रकाशित गरि बाँड्नेसम्म पर्छन् । रगत दिँदा कमजोर होइन्छ भन्ने भ्रम चिर्न सन् १९९० डिसेम्बर ५ मा उनी रक्तदान गरेको एक घन्टा नबित्दै देशब्यापी साइकल यात्रामा निस्केका थिए । त्यतिबेलाका २२ वर्षे मैनालीको ३१ दिने उक्त यात्राको उद्देश्य रक्तदानमा प्रेरणा जगाउनु नै थियो । ‘यात्रा अवधिमा जुन सहरमा बास बसिन्थ्यो, त्यहाँका लाइन्स र लियो क्लब सदस्यलाई रक्तदान गर्दा शरीरमा कुनै कमजोरी हुँदैन भन्दै वर्षमा एकपल्ट रक्तदान कार्यक्रम गर्न अनुरोध गरिन्थ्यो,’ उनले आफ्नो संक्षिप्त आत्मकथामा लेखेका छन् । 

युवाहरुमा रक्तदानको चेतना जगाउन २०६९ भदौमा काभ्रेका तीन सय सामुदायिक विद्यालयमा ‘रक्तदान जीवनदान’ शीर्षकमा निबन्ध प्रतियोगिता गराएका थिए । उक्त प्रतियोगितामा ६ सयभन्दा बढी विद्यार्थी सहभागी थिए । यसमा लागेको एक लाख २८ हजार रुपैयाँ खर्च मैनालीले आफ्नै खल्तीबाट बेहोरेका थिए । १९९० तिर केही रक्तदातासँग मिलेर ब्लड डोनर्स एसोसिएसन अफ नेपाल स्थापना गरेका थिए । अमेरिकामा पनि २००९मा ब्लड डोनर्स अफ अमेरिका स्थापना गरि अमेरिकी नेपालि समुदायलाई रक्तदान गर्न माहोल खडा गरेका छन् । रक्तदान अभियानलाई संस्थागत रुपमा विश्वव्यापी बनाउन उनले पछिल्लो समय इन्टरनेसनल नेप्लिज ब्लड डोनर्स नामको संस्था खोलेका छन् । विश्वका १९ देशमा अभियानमार्फत ६ हजार पिन्टभन्दा बढी रगत संकलन गराएका मैनाली स्वयंले चाहिँ ५५ हजार तीन सय ५० मिलिलिटर रगत दान गरेका छन् । 

मैनालीले खल्तीकै पैसाबाट २०७१ साउन ७ गते काठमाडौंमा दुर्लभ एचआर नेगेटिभ समूहका एकजनासहित तीनजना रक्तदातालाई जनही ५० हजार र रक्तदानमा सर्वसाधारणलाई उत्प्रेरित गर्ने पत्रकारलाई २५ हजार रुपैयाँ राशिको पुरस्कार उपराष्ट्रपतिको हातबाट दिए । उनले आफ्ना फेसबुक फ्रेन्डलाई पनि जन्मदिनको शुभकामना दिँदा अर्को वर्षको जन्मोत्सव रक्तदान गरेर मनाउन सुझाउने गरेका छन् । वार्षिक १० पटकसम्म होल ब्लड र प्लेटलेट्स दान गरेको र यसरी रगत दिँदा कहिल्यै कमजोरी महसुस नगरेको सेन्चुरी ब्लड डोनर मैनालीको भनाइ छ । उनले अहिलेसम्म दिएको रगतबाट तीन सय ६० जनाभन्दा बढी बिरामीलाई बचाउन सहयोग पुगेको छ ।

No comments:

Post a Comment