Saturday, January 18, 2014

संस्मरण :डामण्ड शमशेरसंग आधा घण्टा बिताएको अविस्मरणीय क्षण

संयोग भनौ या म भाग्यशाली हु ,कसरि हो कसरि ,आफ्नो कामको शिलशिलामा बिक्रि बैठकमा सहभागी हुन् काठमाडौँ आउदा स्वर्गीय डामण्ड शमशेरसंग भेट हुने मौका पाए l बसन्ती र सेतो बाघको उपन्यासबारेमा चर्चा परिचर्चा सुने पछि सेतो बाघ आधा सम्म पढेर छोडेकोले बिष्मात लागि रहेको अवस्थामा प्रतक्ष्य डामण्ड शमशेरसंग भेट हुन पाउनु त्यो भन्दा अरु ठुलो कुरो केहि     थिएन र मेरो अहोभाग्य थियो l


वहा मलाई भेट्न सायद कुपन्डोलबाट दरवार मार्ग आउनु भएको थियो l मैले चिया संगै पिउने अनुरोध गरे र करिब आधा घण्टा वहा संग मैले केहि बिचार बिमर्श गर्न मौका पाए l सन् १९९५ कुरा हो स्थान दरबार  मार्ग स्थित अन्नपूर्ण पांच तारे होटल (अतिथि गृह) छेउमा औषधिको थोक ब्यापार ब्यबसाय गर्ने स्थानमा जम्का भेट हुने मौका पाए l मौका पनि गजबको छ म भारतीय बहुराष्ट्रिय प्रतिष्ठानमा औषधि बिकी प्रतिनिधि (एम आर ) को रुपमा बिराटनगरमा कार्यरत थिए l

प्रत्येक ३- ३ महिनामा त्रैमासिक बिक्रि सम्बन्धि समिक्षा गरिने गरिन्थ्यो र अनिवार्य रुपमा सहभागी हुने पर्ने हुन्थ्यो l स्वर्गीय डामण्ड शमशेरको छोरी वरिष्ठ स्त्री रोग विशेषज्ञ बिराटनगरमा अहिले पनि एक निजि अस्पताल (नर्सिङ्ग होम )संचालन गरि त्यही बसोबास गर्नु हुन्छ l प्रतिष्ठानको बिक्रिलाई अझ प्रभावकारी र वृद्धि होस् भन्ने हेतुले महिलाहरुको लागि बनाईएका औषधिको प्रबर्धन गर्न जाने शिलशिलामा मैले म काठमाडौँ जादैछु केहि छ मेरो लागि सेवा भनेकोमा वहाले केहि तपाईलाई दिन्छु भन्नु भयो र मेरो बुवालाई पुर्याई दिनु पर्छ भन्नु भयो l त्यति बेला सम्म पनि मलाई वहाकी सुपुत्री भन्ने हेक्का भएन l

मेरो नियमित कर्तब्य हुन्थ्यो र म वहाकि छोरी चिकित्सक गीता कार्की संग राम्रो सम्बद्ध भएकोले ब्यबसायिक रुपमा प्रगाढ सम्बद्ध हुन् पुगेको थियो l बैठकमा काठमाडौँ जानु अगाडी मलाई एउटा खाम दिनु भयो र यहाँ केहि रकम छ वहालाई दिनु भनि मेरो अगाडी मुद्रा गन्नु भयो र मैले सुरक्षितसंग त्यो खाम ल्याए l मुद्रा गन्नु भयो किनभने पैसा गन्नु पर्छ र गनेर पनि लिनु अनि मात्र कारोवार सधै सफा र ईमान्दारी हुइन्छ l

काठमाडौँ पुगे पछि खाम यसो हेर्छु त त्यहिँ बसन्ती र सेतो बाघ लेख्ने सुप्रसिद्ध लेखक डामण्ड शम्सेर पढ्दा औधि हर्ष लाग्यो त्यसमा पनि त्यहिँ बेला देखि यो पंक्तिकार एक शब्द पनि अंग्रेजी नमिसाई नेपाली बोल्ने अभियानमा लागेको सुरुवातमा भेट्न पाउनु मेरो लागि सपना झैँ थियो lसमय कहिले आउला भन्दै मिलन समय आयो र म माथि कार्यालय अरुसंग मस्त गफ चुटि रहेको बेलामा टुप्लुक्कै आउनु भयो l म संग भेट्न सकिन्छ भन्नु भयो अरे र हाम्रो भेट भयो l

मैले लाजै पचाएर सोधे हजुर नै बसन्ती र सेती बाघ लेख्ने उपन्यासकार हैन भन्दा मुसुक्क हास्नु भयो र हो भन्नु भयो lमेरो नजिक वरपर बस्नेले पत्त पनि पाएनन कि वहा नै सेतो बाघका लेखक हुन् भन्ने l १९९५ तिरको हो र मैले मुख फोडेर अनुरोध गरे हजुरसंग आधा घण्टा मात्र भए मलाई पुग्छ भने र दरबारमार्ग स्थित हट ब्रेड (तातो पाउरोटी )चमेना गृहमा गयौ र केहि खाने मौका पायौ l मेरो अतिथि भएकोले मैले भुक्तानी गरे र आधा घण्टा सम्म वार्ता भयो र दुबैले सोधपुछ गर्ने मौका पायौ l उमेरले गर्दा होला सायद बिस्तारै र मुसुमुसु हास्दै कुराकानी गर्नु भयो र जाने बेलामा मैले वहाकी छोरीले दिएको खाम हस्तान्तरण गरे र वहा जानु भयो l त्यहा देखि मैले कहिले भेटिन किनभने मैले पो सोध खोज गर्नु पर्ने र कामको ब्यस्तले होला त्यता तर्फ ध्यान नै गएन l   

परिवार बारेमा मलाई सोध्नु भयो र मैले हामी धनुकटा मुगाका थापा हौ भन्दा पुर्व प्रधान मन्त्रि सुर्य बहादुर थापाको बारेमा पनि चर्चा चल्यो र मैले जे हो त्यो भने l मैले एउटा प्रश्न वहालाई राखेको थिए कि पढ्दा कत्तिको अझ पनि सम्झना (स्मरण) हुन्छ भन्दा बुढेसकाल लागेछ त्यति सम्झना हुदैन होला भन्नु भयो l २० बर्ष अगाडिको कुरा मैले पनि के के वार्ता भयो त्यो पोलेर खाएछु l

मैले आफ्नो अभियानमा भरसक नेपाली मुलका नेपालीहरुसंग नेपाली शब्द मात्र प्रयोग गर्छु र अंग्रेजी नमिसाईकन बोल्ने अभ्यासमा लागेको छु र भर्खर थालेको अभियान हो भन्दा निरन्तर दृढ उदेश्यका साथ लागेमा लक्ष्यमा पुग्न केहि समय लाग्दैन भनि मलाई दिएको अमृत बाणी म कहिले भुल्दिन l वहाको छोरी अहिले पनि बिराटनगरमा हुनु हुन्छ र म कामको शिलशिलामा बिराटनगर जादा सन् २००७ सम्म पनि भेट हुने गरेको थियो l मेरो शुद्धि हराएछ कहिले पनि वहाको पिताको बारेमा कहिले सोध्ने वातावरण पनि बनेन l  सन् १९९५ मा वहाले दिएको त्यो खाम वहाले पनि कहिले सम्झनु हुन्न होला भन्ने लागेको छ किनभने धेरै बर्ष अगाडिको कुरा हो र स्मृति पटलमा नरहन सक्छ l

यो पंक्तिकार अमेरिका आएको ७ बर्ष लागेछ र निरन्तर कलम चलाउने अभ्यास गर्दै गएकोले र लेख्न बस्दा वहालाई सम्झने गर्दछु र २०११मा मा वहाको देहवसान हुदा म अमेरिकामा थिए र दुखित भए l भौतिक रुपमा हामीलाई छोडेर गए पनि राष्ट्रका एक सच्चा र ईतिहासले सम्झना गरि रहने लेखक सबैको मानस पटलमा बसी रहने छन l वहासंग भएको वार्तालाव र कुराकानीले अझ मेरो कान गुन्जिरहन्छ र सम्झना आई रहन्छ l

No comments:

Post a Comment