BostonNepal

Sunday, December 21, 2014

प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा गैह्रे

दोहा, ५ पुस । प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा रामहरि गैह्रे अध्यक्ष चयन हुनुभएको छ ।
 
मञ्चको शुक्रबार दोहामा भएको चौंथो अधिवेशनले गैह्रेलाई अध्यक्षमा चयन गरेको हो । कतारको विभिन्न सामाजिक संघसंस्थाको समेत कुशल नेतृत्व गरेका ग्रैह्रे प्रवासी नेपाली मञ्चको स्थापनाकालदेखि नै कतारमा सक्रिय हुनुहुन्छ । निवर्तमान उपाध्यक्ष चानक पोखरेलले सर्वम्मतिका लागि गैह्रेलाई समर्थन गर्नुभएको थियो ।
 
यसैगरी, उपाध्यक्षमा गणेश शिवा सर्वसम्मत निर्वाचित हुनुभएको छ । सर्वसम्मतिका लागि उपाध्यक्षका उम्मेदवार छविलाल विक प्यूठानीले उम्मेदवारी फिर्ता लिनुभएको थियो ।
 
यसैगरी, सचिवमा हरि बस्नेत निर्विरोध हुनुभएको छ । उपसचिवमा मुनाफ मियाँ सर्वसम्मत हुनुभयो । मियाँलाई द्रोण बस्नेतले उम्मेदवारी फिर्ता लिएर समर्थन गर्नुभएको थियो ।
 
यसैगरी, सदस्यहरुमा बालकृष्ण भित्रीकोटी, गोप बिक, रामसागर मेहता, जीयाबाबु खान, विकास परियार, लक्ष्मी किशोर श्रेष्ठ, जहरसिंह लामा, भिमकुुमार लकान्द्री, प्रभात त्रिपाठी, सुभाष कार्की, खड्ग नेपाली, मन बहादुर कुवर, महेन्द्र बहादुर चन्द, बिजयबिक्रम बस्नेत, टोमप्रसाद बडाल, बिष्णु गौतम, दीपक सापकोटा, नवराज बिक, पूर्णबहादुर नेपाली, जितबहादुर सार्की, शालिकराम शर्मा, प्रेमराज राई र रामनाथ शर्मा चयन हुनुभएको छ । निर्वाचित कमिटीलाई नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले सपथ गराउनुभएको थियो । यसैगरी, निवर्तमान अध्यक्ष दिलकिरण खजुम, अध्यक्षका प्रत्यासी चानक पोखरेल लगायतले शुभकामना दिनुभएको थियो ।
 
निर्वाचनका लागि प्रेस चौतारी नेपालका सचिव गणेश पाण्डेको संयोजकत्वमा सागर नेपाल, पूर्ण केसी, उमेश अधिकारी र बिनोद भट्टराई रहेको कमिटी गठन गरिएको थियो । तर, सबै पदहरुमा सर्वसम्मति भएपछि सहज रुपमा नयाँ कमिटी चयन भएको थियो ।
 
नवनिर्वाचित कमिटीलाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले शनिबार भेटी बधाई तथा कार्यकाल सफलताको कामना गर्नुभएको थियो ।
 
पोखरेल र गैह्रे
 
चुनाव गराएर विभाजित गर्ने मेरो कुनै उद्देश्य थिएन: पोखरेल
 
यसैबीच, अध्यक्षका प्रत्यासी बनेका निवर्तमान उपाध्यक्ष चानकराज पोखरेलले प्रवासी नेपाली मञ्चको हितलाई ध्यानमा राख्दै आफूले सर्वसम्मतिका लागि मार्ग प्रशस्त गरेको बताउनुभएको छ ।
 
सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उहाँले भविष्यमा पनि मञ्चको हितमा खटिरहनु प्रतिबद्धता समेत जनाउनुभएको छ । पोखरेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा जस्ताको तस्तै:
 
“प्रवासी नेपाली मञ्च कतारको स्थापनाकालदेखि नै यो संस्थाका लागि म निरन्तर खटिरहेँ । यो संस्थालाई हुर्काउन, मलजल गर्न र समृद्ध पार्न नै मैले आफ्नो श्रम, सीप र स्रोतसाधनलाई समेत संस्थाको हितमा लगाएको साथीहरुलाई सर्वविदितै छ । मैले उपाध्यक्षका हैसियतले त्यो भन्दा माथिको पद (अध्यक्ष) मा दाबी गर्नु प्राकृतिक नियमसंगत थियो । साथीहरुको आग्रह र सल्लाह बमोजिम नै अध्यक्षमा मैले आफूलाई प्रस्तुत गरेको हो । म सर्वसम्मतिका साथ अध्यक्ष बन्न चाहन्थेँ । यो संस्थालाई चुनाव गराएर विभाजित गर्ने मेरो कुनै उद्देश्य थिएन । चुनावै लडेको भए जित–हारको विषय त भइनै हाल्थ्यो । 
 
सहयोद्धा साथीहरु पनि पक्ष र विपक्षमा लाग्नुपथ्र्यो । जसले राम्रो सन्देश पक्कै दिन थिएन । त्यसो हुँदा कतारमा मञ्चको भविष्य कस्तो हुन्थ्यो होला ? मैले गम्भीर भएर सोचेँ । मञ्चका होनाहार साथीहरु मेरो पक्षमा हुँदाहुँदै पनि म चुनावमा गएर यो संस्थालाई विवादमा पार्न नचाहेकै हो । त्यसैले मैले मेरा मित्र रामहरि गैह्रेजीलाई सर्वसम्मत रुपमा अध्यक्ष बन्नका लागि बाटो खुल्ला गरिदिएको हुँ । म रामहरिजी र नवनिर्वाचित साथीहरुलाई हार्दिक बधाई दिन चाहन्छु । विगतमा जस्तै म यहाँहरुको सदैव साथमा रहनेछु । काम गर्नका लागि पद नै चाहिन्छ भन्ने मानिसकताबाट म सदैव टाढा छु । सबैभन्दा ठूलो कुरा प्रवासी नेपाली मञ्चलाई हामीले फेरि एकताको सुत्रमा बाँध्न सक्यौं । त्यो नै हामी सबैको जित हो, प्रवासी नेपाली मञ्चको जित हो । काम गर्ने सवालमा मबाट केही गल्ती भएमा माफी चाहन्छु । मलाई सँधै सहयोग गर्ने, रचनात्मक सुझाव र टिकाटिप्पणी गरी सत्मार्गमा हिँड्न मद्दत पुराउने साथीहरुप्रति आभारी छु ।”

No comments:

Post a Comment